वीपी प्रतिष्ठानमा नयाँ ब्लकमा कोभिड लक्षित आकस्मिक सेवा शुरु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अत्यावश्क सेवा विस्तार गरिएको छ । बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी विस्तार गरिएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरी सो सेवा संचालनमा ल्याएका हुन् । नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको प्रा.डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए । कोभिडको दोश्रो लहरलाई मध्यनजर गर्दै २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक सुरू गरेको वीपी प्रतिष्ठानमा दुईवटा बेडको छुट्टै आइसोलेसन रूमसमेत रहेको प्रा.डा. मल्लले बताए ।

‘हामीले मल्टी डिसिप्लिनरी अप्रोचअन्तर्गत इमरजेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका बिरामीहरूलाई ट्राएज (एटिएस) गरी बिरामीको स्वाथ्य स्थितिको आधारमा उपचार गर्छौं,’ उनले भने, ‘यस उपचार पद्धतिअनुसार बिरामीलाई आकस्मिक कक्षमा कार्यरत चिकित्सकलगायत सम्बन्धित विभागका विशेषज्ञसहित रोगको गम्भीर्यतालाई मध्यनजर गरी राय, सुझाव र उपचार पद्धतिबारे छलफल गरिन्छ ।’

छलफलपछि बिरामीलाई सम्बन्धित वार्ड, आईसीयूमा भर्ना गर्ने वा सामान्य उपचार र अवलोकन गरी डिस्चार्ज गर्ने भन्ने निर्णय लिइनेगरी आकस्मिक कक्षको शुरु भएको उनको भनाइ छ । यसरी उपचार गर्दा होल्डमा राख्नुपर्ने बिरामीको सहजताका लागि नयाँ ब्लकको थालनी भएको उनले बताए ।

नयाँ ब्लकका लागि आवश्यक जनशक्तिसमेत तयार भइसकेको प्रा. डा. मल्लले बताए । नयाँ ब्लकको विस्तारसँगै इमरजेन्सीमा १ सय ७ वटा बेडको क्षमता रहेको छ ।

No description available.

नयाँ ब्लककोे उद्घाटनसँगै उपकुलपति गिरीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर कार्यहरू अगाडि बढाएको बताए । ‘ईमरजेन्सी भनेको कुनै पनि अस्पतालको मुहार हो,’ उनले भने, ‘इमरजेन्सीमा तत्काल उपचार पाउनुपर्ने बिरामीहरू आउने गर्छन् । यसलाई मध्यनजर गर्दै हामीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’

कोरोना महामारीको दोश्रो लहरले भयावह स्थिति ल्याउन सक्ने भन्दै त्यसको लडाइँका लागि नयाँ कार्ययोजना तयार भइसकेको उपकुलपति गिरीले जानकारी गराए । कार्यक्रममा शिक्षाध्यक्ष प्रा. डा. गुरूप्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया