निषेधाज्ञामा पनि बैंक वित्तीय संस्था र एटीएम खुल्ने

काठमाडौं । सरकारले १६ वैशाखबाट घोषणा गरेको निषेधाज्ञाको अवधिमा पनि बैंक वित्तीय संस्थाका सबै शाखा र एटीएम खुल्ने भएका छन् । बैंक वित्तीय संस्थाका संगठनका प्रमुखहरुसँग बुधबार गरेको भर्चुअल बैंठकपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘हामीले बैंक वित्तीय संस्थाका सबै शाखा तथा एटीएम खुला गर्ने निर्णय गरेका छौं,’ गभर्नर अधिकारीले भने, ‘तर, व्यापार व्यवसायमा आउने मन्दी र सेवाग्राहीको आवगमनमा आउने कमीका कारण वा कर्मचारी विरामी भएर कुनै शाखा बन्द गर्नु पर्ने भए राष्ट्र बैंक र सेवाग्राहीलाई जानकारी दिने, नजिकको शाखा कुन हो भन्ने जानकारी दिने र शाखाका कर्मचारीको सम्पर्क नम्बरसहित जानकारी हुने गरी सूचना राखेर मात्र बन्द गर्नुपर्छ ।’

राष्ट्र बैंकबाट इजाजत प्राप्त सबै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई जारी गरेको परिचय पत्रकै आधारमा कर्मचारीलाई कार्यालय जान दिन जिल्ला प्रशासन कार्यालयहरुले स्वीकृति दिएको पनि गभर्नर अधिकारीले बताए ।
‘वैंक वित्तीय संस्थाहरु सरकारले तोको आवश्यक वस्तु तथा सेवाको सूचीभित्र परेको सेवा क्षेत्र हो,’ उनले भने, ‘त्यसैले यो क्षेत्र पूर्ण रुपमा बन्द गर्न मिल्दैन ।’ यसअघि गत वर्षको लकडाउनमा बैंक तथा वित्तीय संस्थाका सीमीत शाखालाई सीमित कर्मचारीमार्फत सञ्चालनमा राखिएको थियो । ती शाखाहरुका लागि कर्मचारीको कोटा र पासको व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

‘तत्कालका लागि हामीले सबै शाखा र एटीएम चलाउने भनेका हौं,’ उनले भने, ‘थप जटिलताहरु पैदा भए भने अवस्था अनुसार आवश्यक निर्णय लिनुपर्ने हुन्छ । गत वर्षको जस्तो कोटा र पासको व्यवस्था पनि गर्नुपर्ने हुन सक्छ ।’

त्यस्तै, नेपाल वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरण कुमार श्रेष्ठसहित ५२ जनालाई कोभिड संक्रमण देखिएको छ । केही दिनअघि गरिएको परीक्षणमा ती कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको बैंकले जनाएको छ । संक्रमित कर्मचारी मध्ये आधाजसो केन्द्रीय कार्यालयका र बाँकी शाखाका कर्मचारी रहेको बैंकले जनाएको छ ।

हाल नेपालमा २७ ओटा वाणिज्य (‘क’ वर्गका) बैंक, १९ ओटा विकास (‘ख’ वर्गका) बैंक, २१ ओटा वित्तीय संस्था, ७६ ओटा लघुवित्त संस्था गरी १४४ ओटा बैंक वित्तीय संस्था छन् ।

प्रतिक्रिया