लकडाउन भएपनि ग्यास र पेट्रोलियमको अभाव नहुने

काठमाडौं । नेपालमा कोभिड संक्रमण र मृतकको संख्या प्रत्येक दिन बढ्न थालेको छ । भारतमा बढी संक्रमित रहेका राज्यहरुमध्ये उत्तर प्रदेशमा बढेको संक्रमणको असर नेपालको बाँके (नेपालगन्ज)मा देखिइरहेको छ । संक्रमण नियन्त्रणमा लिन भारत सरकारले गत वर्षजस्तो पूर्ण लकडाउन गर्न सकेको छैन । भारतसहित विश्वका धेरै देशले यो पटक अर्थतन्त्रमा आउने शिथिलतालाई ध्यान दिँदै आंशिक लकडाउन, निषेधाज्ञा गरे पनि पूर्ण लकडाउन भने गर्न सकेका छैनन् ।

विगतका उदाहरण हेर्ने हो भने नेपालमा भूकम्प, नाकाबन्दी, महामारीजस्ता विपत्‌मा दैनिक उपभोग्य वस्तुको चरम कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी गर्ने गरिएको देखिन्छ । कालोबजारी गरी कमाउने दाउ हेरिरहेकाहरुले यस्तो विपतलाई ‘अवसर’ बनाउने गरेका छन् । सर्वसाधारण भने मारमा पर्ने गरेका छन् । २०७२ मा भएको नाकाबन्दीताका १३ सय रुपैयाँमा पाइने एलपी ग्यासलाई ८ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको उदाहरण हामी सबैले देखेभोगेकै विषय हो ।

यसपटक पनि महामारी नियन्त्रणका लागि लकडाउन भयो भने खाना पकाउने ग्यास र पेट्रोलियमको अभाव र मृल्यवृद्धि हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा देखिएको छ । तर नेपाल आयल निगमका उप–प्रबन्धनिर्देशक सुशील भट्टराई लकडाउन नै भए पनि एलपी ग्यास र डिजेल पेट्रोलको आपूर्तिमा कुनै समस्या नहुने बताउँछन् ।

उनका अनुसार लकडाउन भए खाना पकाउने ग्यास बढी खपत हुने होटेल, रेस्टुरेन्ट, रिसोर्ट, उद्योग, प्रतिष्ठान, शिक्षण संस्थालगायत ठाउँ बन्द हुनेछन् । केही आंशिक रुपमा सञ्चालन हुनेछन् । यसले गर्दा व्यवसायिक क्षेत्रमा हुने ग्यासको खपत निकै घट्नेछ । यसले गर्दा घरायसी प्रयोजनका लागि मात्र ग्यासको अभाव नहुने उनको भनाइ छ ।

‘गत वर्षको लकडाउनमा पनि खाना पकाउने ग्यासको अभाव भएन,’ उनले भने, ‘ यसपटक भारतमा महामारी धेरै देखिएकाले भारतबाट ग्यास आउन कम होला कि भन्ने चिन्ता पनि देखिन्छ तर, निःसंक्रमणको गरी ग्यास ल्याउने प्रक्रिया रोकिँदैन । यसले गर्दा अभाव हुँदैन ।’

तर, अभाव हुने हल्ला चलाएर व्यवसायीले महामारीको फाइदा उठाउँदै नाफा कमाउन चाहनेहरुले अवैध रुपमा ग्यास भण्डारण गर्ने र मूल्य बढाएर कालोबजारी गर्ने प्रवृत्ति दोहोरिन नदिन आयल निगम र सम्बन्धित सरकारी निकाय पनि चनाखो हुनुपर्ने उनले बताए ।

त्यस्तै, पूर्ण वा आंशिक लकडाउन भए नेपालमा आवश्यक वस्तु तथा सेवा क्षेत्रका बाहेक सवारीसाधन चल्न पाउने छैनन् ।

यसले पनि डिजेल र पेट्रोलको खपत घट्छ । ‘खपत नै घटेपछि अभाव हुँदैन,’ उनले भने, ‘अर्कोतर्फ हामीसँग अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन सञ्चालनमा रहेकाले पनि अभाव हुँदैन ।’

उनका अनुसार सामान्य अवस्थामा यो पाइपलाइनबाट दैनिक खपतको झण्डै ७७ प्रतिशत डिजेल ल्याउने गरिएको छ ।

नेपालमा पेट्रोलको तुलनामा डिजेलको खपत धेरै छ । पाइपलाइनबाट निर्वाध रुपमा डिजेल आउने भएकाले अभाव नहुने उपप्रबन्ध निर्देशक भट्टराई बताउँछन् ।

कोरोनाका कारण अन्तरराष्ट्रिय हवाई सेवा, यातायात बन्द हुँदै गएका छन् । धेरै देशले आंशिक लकडाउन गरेकाले खपत धेरै कम भएको त छैन । तर, घटेको भने छ । खपत नै घटेको बेला अन्य कुनै कारण नभए अन्तरराष्ट्रिय बजारमा पेट्रोलियमको समेत मूल्य बढ्ने देखिँदैन । खपत धेरै कम नभएकाले मूल्य धेरै घट्ने पनि देखिएको छैन ।

‘भारतमा संक्रमण बढेकाले आंशिक लकडाउन छ,’ उनले भने, ‘तर चीन निर्वाध रुपमा चलिरहेको छ । यस्तै प्रवृत्ति विश्वका धेरै देशमा रहेकाले अन्तरराष्ट्रिय रुपमा पेट्रोलियम खपत अघिल्लो वर्षको लकडाउनमा जस्तो कम हुने देखिँदैन ।’

प्रतिक्रिया