प्राधिकरणले होङसी सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले होङ्सी सिमेन्टको उत्पादन प्लान्टलाई ३० मेगावाट विद्युत् उपलब्ध गराउने भएको भएको छ । यसका लागि प्राधिकरणको कार्यकारी निर्देशकस्तरीय बैठकले उक्त उद्योगलाई ३० मेगावाट लोड दिन स्वीकृति दिएको हो । नवलपरासीको सुस्ता पश्चिममा दुई वर्षदेखि सञ्चालनमा रहेको उक्त उद्योगले हाल सिमेन्ट उत्पादन गरिरहेको छ । उक्त उद्योगले पूर्ण क्षमतामा सञ्चालन हुने आफूलाई ५० मेगावाट विद्युत् माग गर्दै आएको थियो । यस मध्ये १२ मेगावाट विद्युत् उद्योग आफैले उत्पादन गरी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
नवलपरासीको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत कम्पनीको प्लान्टसम्म विदुत् लगिने भएको हो । तर, करिब २० किलोमिटर लम्बाइको उक्त प्रसारण लाइनको काम पूरा नभएकोले हालसम्म विद्युत् उपलब्ध गराउन सकेको छैन ।
यस उद्योगमा चिनियाँ लगानीकर्ताको ६० प्रतिशत, नेपाली लगानी साझेदारको ३० प्रतिशत र सर्वसाधारण नेपालीको १० प्रतिशत सेयर स्वामित्व छ । दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य रहेको छ ।
उद्योगमा नेपालका ७ ओटा बैंक मिलेर सहवित्तीयकरणमा १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ४० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उक्त परियोजनामा लगानी बोर्डको स्वीकृतिमा चिनियाँ कम्पनीले लगानी गरेको हो ।








