डबल म्युटेन्ट भेरिएन्टः के यो खतराको घण्टी हो ?

काठमाडौँ । नेपालमा पनि कोभिड-१९ को ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । ललितपुरमा संकलन गरिएको नमुनामा ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार मुलुकमै पहिलो पटक यस्तो भेरिएन्ट भेटिएको हो । यो संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ भनेर अनुसन्धान सुरु गरिएको छ ।

निर्देशक डा. पौडेलका अनुसार १५ वटा नमुनामध्ये एस-जीन नेगेटिभ भएका १० र पोजेटिभ भएका ५ नमुना हङ्कङस्थित विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त प्रयोगशालामा पठाइएको थियो । त्यसमा १० वटा एस-जीन नेगेटिभमध्ये २१ देखि ५९ उमेर समूहका ९ जनामा यूके भेरिअन्ट भएको प्रमाणित भएको हो ।

त्यस्तै ५ जनामध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको निर्देशक डा. पौडेलले बताए । डबल म्युटेन्ट भेरिएन्ट भनेको एकै भाइरस परिवर्तन भई दुई प्रकारको स्वरूप देखिनु हो । भाइरसले आफूलाई लामो समयसम्म प्रभावकारी बनाउन आफ्नो जेनेटिक संरचनामा परिवर्तन गरिरहन्छ ।

नेपालमा हालसम्म १५८ जनामा यूके भेरिअन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ३८ जना २१ देखि ३० वर्षका र ३६ जना ३१ देखि ४० वर्षका छन् । १ देखि २० वर्षका मानिसहरूमा पनि यो भेरिअन्ट फैलिरहेको पाइएको छ ।

के यो खतराको घण्टी हो ?
नेपालमा पछिल्लो समय कोरोनाबाट हुने संक्रमण तथा मृत्युको दर ह्वात्तै बढेको छ । बुधबार कोभिड-१९ संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ६०३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्ने सक्ने आंकलन छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मंगलबार भनेका थिए- ‘दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने भन्ने हो ।’

उसो त, भाइरसको नयाँ भेरिएन्टहरु देखिएको र युवा तथा कम उमेर समूहकामा देखिएकोले जोखिम बढेको स्वास्थ्यविद्हरु बताउँछन् । यो बेला सर्वसाधारणहरू नै सचेत रहन जरुरी छ भन्छन् -शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन ।

थप केही समय हेरेर सरकारले कदम चाल्नुपर्ने दिनुपर्ने उनको भनाइ छ । ‘यो भाइरस समुदायमा पक्कै पनि छ । तर रुघाखोकी भन्दै लापरबाही गर्ने गरिएको देखिन्छ। खतराको घण्टी बजेकै हो,’ पुनले भने, ‘ अहिले आपत्कालीन अवस्था नै आइसकेको भन्ने अवस्था भने छैन ।’

यस्तै भीडभाड हुने क्षेत्र र विद्यालय बन्द नगरिए जोखिम झन् बढ्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । ‘स्वास्थ्य मन्त्रालयले सरकारलाई कोभिडको बढ्दो संक्रमणबारे जानकारी गराइसकेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘तुरुन्त स्कुल बन्द गर्नुपर्छ । ढिलो भयो । ज्यानका अगाडि व्यापारको कुरा गरिनु दुःखद हो ।’

  • सम्बन्धित समाचार

-कोभिडको नयाँ स्वरुप पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक
-विद्यालय बन्द गरेर भए पनि बालबालिका बचाउनुपर्छ

प्रतिक्रिया