नयाँ वर्षमा प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन

काठमाडौं । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बुधबार बिहान गर्ने सम्बोधनमा कोरोनाको नयाँ भेरियन्टबाट उत्पन्न हुन सक्ने जोखिम र यसलाई नियन्त्रण गर्नका लागि सरकारद्वारा जारी गरिएको नयाँ मापदण्ड र नीतिका विषय समेटिने बताइएको छ ।
नयाँ प्रकृतिको कोरोना संक्रमणको जोखिम नियन्त्रणको विषयमा सरकारद्वारा जारी हुने मापदण्ड र नीतिबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा नै जानकारी दिने भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्रीहरूद्वारा यस विषयमा गर्ने भनिएको अपिल स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा बुधबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि उक्त अपिल कार्यक्रम रोकिएको हो ।
प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनमा नै ती सबै विषय समेटिने भन्दै उपप्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूद्वारा गर्ने भनिएको अपिलको कार्यक्रम स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत कोभिड- १९ को दोस्रो चरणको जोखिम नियन्त्रण गर्नका लागि सरकारद्वारा जारी गरिने नीति र मापदण्डका विषयमा जानकारी दिने भनिएको थियो ।








