भीडयुक्त शहरमा एक महिनासम्म विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकालगायतका धेरै भीड हुने शहरका विद्यालय एक महिनासम्मका लागि बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत् पठन पाठन गराउन मन्त्रालयको सुझाव छ ।
अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट कम उमेरका बालबालिका र युवा समूहमा देखिएको बताउँदै मन्त्रालयले यो चेन ब्रेक गर्न कम्तिमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत् गराउन खोजिएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।
‘यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।
पछिल्ला केही दिनयता नेपालमा नयाँ प्रकृतिको कोभिड-१९ संक्रमण फैलिएको छ । हिजोमात्र थप १३ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









