दल फेर्दा पद गुमाएका यी माओवादी सांसद

  • धनबल राई

काठमाडौं । दल फेर्दा माओवादी केन्द्रका सांसदद्वय दधिराम न्यौपाने र निदेश पन्थीको सांसद पद गुमेको छ । माओवादी केन्द्रले कारबाही गरेपछि लुम्बिनी प्रदेश सभाका सदस्यद्वय न्यौपाने र पन्थीको पद गुमेको हो ।

सोमवार (आज) त्यहाँ प्रदेश सभा बैठक बस्दैछ । बैठकमा सभामुखले माओवादी केन्द्रले पठाएको पत्र पढाएर सुनाएसँगै उनीहरुले पद गुमाउनेछन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने रूपन्देही क्षेत्र नं. १ को २ र पन्थी गुल्मी क्षेत्र नं. २ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

पछिल्लो पटक देखिएको राजनीतिक संकटपछि उनीहरु एमालेतिर लागेका थिए । दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएपछि उनीहरुले माओवादी केन्द्रबाट जितेको सांसद पद गुमाएका हुन् ।

माओवादी केन्द्र संसदीय दलले प्रदेश सभा सचिवालयमा न्यौपाने र पन्थी दलमा नरहेको सूचना दर्ता गराएपछि उनीहरूको निलम्बन प्रक्रिया अघि बढेको हो । राजनीतिक दलसम्बन्धी दफा ३४ मा दल परित्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था रहेको छ ।

यसअघि माओवादी केन्द्र संसदीय दल (लुम्बिनी) ले २४ घण्टे स्पष्टीकरण मागेको थियो । तर, एक साता बितिसक्दा पनि दुवै सांसदले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्नुपरेको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मकालु खबरलाई जानकारी दिए । ‘स्पष्टीकरण नआएपछि कारबाही गरिएको हो,’ ढकालले भने, ‘पत्र प्रदेश पुगिसकेको छ ।’
यसैगरी माओवादी केन्द्रले प्रदेश नं. १ का सांसद टंक आङ्बुहाङलाई पनि कारबाही गरेको छ । ‘उहाँलाई पनि पार्टीले कारबाही गरेको हो,’ ढकालले भनेका छन् ।

सांसदबाट हटाएको जानकारी आजै प्रदेश सभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । ‘पार्टीले उहाँलाई पदमुक्त गरिसकेको छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मकालु खबरसँग भने– ‘पदमुक्त गरेको पत्र तयारी छ, आजै प्रदेश सभामा जानकारी गराउँछौं ।’

दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेश सभासदस्य आङ्बुहाङलाई माओवादी केन्द्रले चैत १७ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले उनलाई पदमुक्त गरेको हो ।

नेकपा विभाजनमा एमालेतिर लागेर मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बोहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी जनयुद्ध लडेका उनी एमाले प्रवेशलगतै केन्द्रीय सदस्य हुँदै मन्त्री बनेका थिए ।

यसैबिच माओवादी केन्द्रले पार्टी परित्याग गरेका कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई पनि कारबाही गरेको छ ।  निर्वाचित सांसद रेग्मीले पार्टी छोडेर नेकपा (एमाले) मा प्रवेश गरेसँगै कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रमुख सचेतक सीता कुमारी नेपालीकाअनुसार पार्टीले कारबाही गरेसँगै सांसद रेग्मीको पद गुमेको हो । ‘प्रदेशले पार्टी अध्यक्ष प्रचण्डसमक्ष सिफारिस गरेको थियो’, प्रमुख सचेतक नेपालीले भनिन्, ‘पार्टीले पहिलेनै कारबाही गरिसकेको अवस्था हो । प्रदेशको संसदीय दल प्रदेश सभा सचिवालयमा कारबाही गरेको जानकारी अस्ति नै गरिसकेका छौँ ।’

सांसद रेग्मी नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएदेखि एमालेको ओली समूहमा खुलेर लागेका थिए । उनलाई एमालेको ओली समूहबाट कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया