चोरी भएका तीनवटा प्राचीन मूर्ति अमेरिकाले बुझायो

काठमाडौं । अमेरिकी सरकारले नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति हस्तान्तरण गरिएको हो ।

न्युयोर्कका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेको हो ।गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिद बिक्री गर्ने समूहबाट अमेरिकी गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ । हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ ।

प्रतिक्रिया