सरकारले गर्‍यो थारु कल्याणकारी सभासँग पहिलो वार्ता

काठमाडौं । सरकारले थारु कल्याणकारी सभासँग पहिलो वार्ता गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले कल्याणकारी सभासँग मंगलबार पहिलो चरणको वार्ता गरेको हो ।

गृहमन्त्री बादलका अनुसार पहिलो वार्ता सकारात्मक दिशाउन्मुख भएको छ । ‘थारुवान् संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ताटोली सँग आज पहिलो चरणको वार्ता सम्पन्न भयो,’ बादलले भनेका छन्, ‘आज दुवै पक्षले आ–आफ्नो कुरा राख्ने काम भयो ।’

वार्ता पुनः बिहीबार बस्ने पनि गृहमन्त्री बादलले जानकारी दिएका छन् । सरकारी वार्ता टोलीमा बादलसँगै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र एमाले नेतृ भगवती चौधरी छन् ।

कल्याणकारी सभाले रेशम चौधरीको रिहाइलगायतका विषयहरु उठाउँदै आएको छ । यसअघि स्वयम् गृहमन्त्री बादल नै चौधरीको रिहाइका लागि दिइएको धर्नास्थल माइतीघर पुगेर सभालाई वार्ता टोली गठन गरेर आउनु भनेका थिए ।

प्रतिक्रिया