खुवालुङमा पुगे पाँच सांसद

विराटनगर । प्रदेश १ को केही सांसदहरू खुवालुङको अवस्थाबारे जानकारी लिन स्थलगत अध्ययनका लागि पुगेका छन् ।

वस्तुस्थितिको अवलोकन गर्न ५ जना सांसदहरू त्यहाँ पुगेका हुन् । दुधकोशी, अरुण र तमोरको त्रिवेणीमा रहेको ढुंगोलाई किराँत समुदायले संस्कृतिसँग जोडिएको खुवालुङ भएको दाबी गर्दै आएका छन् । स्टिमर संचालनको नाममा खुवालुङ (ढुंगो) फोड्न लागिएको भन्दै त्यसको बचाउमा किराँतीहरूले विरोध गर्दै आएका छन् ।

संचारमाध्यममा खुवालुङ बचाउsf लागि किराँती समुदायले आफ्ना कुराहरू उठाएको विषय बाहिर आएपछि प्रदेश सांसदहरू स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेका हुन् । प्रदेश- १, प्रदेश सभा, उद्योग, पर्यटन तथा वतावरण समितिका सभापति सिता थेबेसहित पूर्वआर्थिक तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, प्रदेश सांसद तथा नेपाली कांग्रेसका सचेतक सुयर्माराज राई, अर्थ समितिका सभापति मोहन खड्का तथा प्रदेश सभा ससदस्य राजन राईले स्थलगत निरीक्षण गरेका थिए ।

अवलोकनपछि सांसदहरुले खुवालुङ बचाउनुपर्ने बताएका छन् । संस्कृति र सभ्यतासँग जोडिएको खुवालुङलाई अवरोध नगरी विकल्प निकाल्नुपर्ने समितिकी सभापति सीता थेबेले बताइन् । खुवालुङ जोगाएर विकल्पसहित स्टिमर संचालन गर्न सकिने भएकाले अहिले किराँती समुदायबाट उठेको खुवालुङको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसका प्रदेश सभा सचेतक सुयर्माराज राईले खुवालुङलाई बचाएर धर्म‚ संस्कृति‚ परम्पराको राज्यले संरक्षण गर्नुपर्ने बताए । ‘विकासको नाममा विनाशमा जानु हुँदैन,’ उनले भने, ‘खुवालुङको इतिहास मास्न र भत्काउन नहुने खालका विकल्पहरू पनि छन् ।’ खुवालुङ भत्काउने निर्णयबाट पछि हटेर विकल्पका विषयमा सोच्नुपर्ने राईले बताए ।

‘राज्यले खुवालुङको विस्तृत अध्ययन गरेर त्यसको वस्तुस्थिति बुझेर कसरी संरक्षण गरेर स्टिमर चलाउने भन्ने बारेमा निर्णय लिनुपर्छ,’ उनले भने, ‘राज्यले भत्काउँछुमात्र भन्न हुँदैन ।’ उनले खुवालुङलाई संरक्षण गर्दै स्टिमर संचालनका लागि विकल्पको रुपमा दाहिने वा देब्रेबाट लैजान सकिने बताए ।

दाहिने तर्फबाट लैजाँदा गिटी बालुवासहितको अवरोध हटाउनुपर्ने र देब्रेतर्फ ढुंगा रहेकाले त्यसको अवरोधलाई हटाएर लैजान सकिने भएकाले दायाँ-बायाँ दुवैतर्फकोे अध्ययन गरेर कता उपयुक्त हुन्छ‚ त्यो छेउबाट स्टिमर संचालन गर्न सकिने राईको दाबी छ ।

प्रतिक्रिया