प्रधानमन्त्री हैन, पार्टी बनाउन लागौं : सभापति देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस तरुण विभागले चितवनकाे रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताएका हुन् । ‘प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ,’ उनले भने, ‘टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।’

सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको भन्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए । उनले भने, ‘मधेसवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन्, त्यो हेर्नुपर्छ ।’

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । सभापति देउवाले स्थानीय तहदेखि संघीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घरदैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘जनता मालिक हुन्, नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख-दुःखमा साथ दिनुस्, निर्वाचन जितिन्छ,’ उनले भने । कांग्रेसभित्रको आन्तरिक विवाद टुंग्याएर अघि बढ्ने समय आएको उनको भनाइ छ ।

प्रतिक्रिया