ओलीले बोलाएको बैठकमा खनाल-नेपाल समूह नजाने

काठमाडौँ । नेकपा (एमाले)का नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओ‌लीले आजका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।

शुक्रबार साँझ बानेश्वरमा बसेको सो समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो । पार्टी अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले आज बिहान संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म बैठकमा सहभागी नहुने सो समूहको अडान छ । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने खनाल-नेपाल समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलाले एकतापछिको नेकपा अवैध ठहर्‍याउँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर पार्टीमा व्यापक फेरबदल गरेका थिए ।

त्यसपछि असन्तुष्ट बनेका खनाल-नेपाल समूहले ललितपुरमा चैत ४ र ५ गते राष्ट्रिय भेला गरेका थिए । एमाले प्रधानमन्त्री ओली र नेताहरु खनाल-माधवबीचको दूरी बढ्दै गएको छ ।

प्रतिक्रिया