जातिभेदविरुद्ध विश्व मञ्चद्वारा पूर्वराज्यमन्त्री विश्वकर्मालाई आर्थिक सहयोग

काठमाडौं । जातिभेदविरुद्ध विश्व मञ्च नेपाल (ग्लोबल फोरम) ले ब्रेन ह्याम्रेज भई उपचाररत पूर्वराज्यमन्त्री लालबहादुर विश्वकर्मालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

अमेरिकामा बसोबास गर्दै आएका जातिभेदविरुद्ध विश्व मञ्च नेपालका केन्द्रीय अध्यक्ष तिर्थ वर्मा (विश्वकर्मा)को अगुवाइमा संकलित रकम ७३ हजार ६ सय रुपैयाँ बुधबार ग्लोबल फोरम नेपाल च्याप्टरका अध्यक्ष संगम गहतराजले ग्लोबल फोरम नेपाल च्याप्टरका इन्चार्ज मोहन विश्वकर्माको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

रकम ग्रहण गर्दै पूर्वराज्यमन्त्री विश्वकर्माले स्वास्थ्य लाभ गरेलगत्तै दलितमुक्तिको आन्दोलनमा आफू निरन्तर लागिपर्ने बताए । उनले समाजमा अझै कायम रहेको जातीय विभेदको मुद्दा राजनीतिले सम्बोधन गर्नुपर्ने र विचारको राजनीतिले विभेद अन्त्य गर्नुपर्ने बताए ।

रकम हस्तान्तरणपछि ग्लोबल फोरम नेपाल च्याप्टरका अध्यक्ष गहतराजले दलित पूर्वराज्यमन्त्री विश्वकर्माले दलितमुक्ती आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गर्दै उपचारका लागि आर्थिक अभाव हुन नदिने र अझै सहयोगका लागि विभिन्न निकायहरुसँग पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यस्तै ग्लोबल फोरम नेपाल च्याप्टरका इन्चार्ज मोहन विश्वकर्माले राज्यले दलितमुक्ति आन्दोलनका एक नेतृत्वलाई बेवास्ता गरेको भन्दै उपचारमा सहयोग गर्न राज्यको ध्यानाकर्षण गराए ।

रकम हस्तान्तरणका क्रममा ग्लोबल फोरम नेपाल च्याप्टरका उपाध्यक्ष एकराज लाकन्द्री, ग्लोबल फोरम नेपाल च्याप्टरका कोषाध्यक्ष एवं पत्रकार कमला रसाइली, अधिकारकर्मी कमल विकलगायतको उपस्थिति रहेको थियो ।

पूर्वराज्यमन्त्री विश्वकर्मा लामो समयदेखि ब्रेन ह्याम्रेज भएर राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया