ईन्धन तस्करी : आउँदा पेट्रोल फर्किँदा डिजेल

विराटनगर । बिराटनगरबाट प्रहरीले ईन्धन तस्करीमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । नेपाल आयल निगमको बिराटनगर कार्यालयमा ईन्धन ल्याई फर्किने बेलामा डिजेल तस्करीमा संलग्न रहेको आरोपमा भारतको अररिया मिरगन्जका २६ बर्षीय मोहमद सजाद र २१ बर्षीय ईमरोज आलम पक्राउ परेको प्रहरीले जनाएको हो ।

उनीहरुले को १ ख ५९१२ नम्बरको ट्याङकरमा नेपाल आउँदा पेट्रोल ल्याउने र फर्किँदा डिजेले तस्करी गर्ने गरेको प्रहरीको आरोप छ । निगमको विनियम तथा प्रचलित कानून विपरित पेट्रोलियम अपचलन गरी राजश्व चुहावट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए । एसपी खड्काका अनुसार, उनीहरुले भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्याङ्करबाट फर्कने क्रममा डिजेल लिएर जान लागेका बेला पक्राउ गरिएको हो ।

२ हजार ६ सय ५० लिटर डिजेल भरेर उक्त ट्याङ्कर आयल निगममा सिल लगाउन पुगेको बेला कर्मचारीले थाहा पाएर प्रहरीलाई अनुसन्धान गरिदिन भनेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी खड्काले बताए । भारतमा भन्दा नेपालमा डिजलको मुल्य सस्तो भएको कारण नेपालबाट चोरी तस्करी गर्न लागेको अबस्था उनीहरु पक्राउ परेको प्रहरीको दाबी छ ।
अहिले बिराटनगरमा दुई ठाउँबाट मात्र ईन्धन आउने गरेको छ । डिजेल पाईपलाईन पछि अमलेखगंजबाट आउने गरेको छ भने पेट्रोल बरौनीबाट आउने गरेको छ ।

थाहा पाएर मात्र यसरी पक्राउ परेका उनीहरु कानुनी दायरामा आएपनि मिलेमतोमा ठुलो मात्रामा ईन्धनको तस्करी हुने गरेको घटना यस अघि पनि सार्बजनिक हुँदै आएको छ ।

प्रतिक्रिया