सदन स्थगनको विषयमा प्रतिपक्षको असन्तुष्टि, सत्तापक्ष भन्छ- प्राविधिक समस्या छ

विराटनगर । प्रदेश सभाको बैठक अनिश्चित भएपछि दलहरूमा अन्यौलता बढेको छ । राष्ट्रिय राजनीतिको असर प्रदेश सभामा पनि देखिएसँगै दोश्रो पटक सूचना टाँसेर प्रदेश सभाको बैठक स्थगित भएको हो । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)को सहमतिमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक स्थगित गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । सर्वोच्च अदालतको आदेशपछि पहिलेकै अवस्थामा पुगेका नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)भित्रको आन्तरिक कलहका कारण प्रदेश सभा स्थगित भएको हो ।
प्रदेश सभामा नेकपा एमाले एक्लैको ५१ सांसद र माओवादी केन्द्रको १६ जना सांसद छन् ।
प्रदेश सभा संचालन गरेर जनताको समस्याका विषयमा छलफल गर्ने थलोलाई बन्धक बनाइएको प्रदेश सभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । ठूला अनियमितताको बारेमा प्रदेश सभामा कुरा उठ्ने र त्यसको जवाफ सरकारले दिनुपर्ने डरले पनि सरकारले सदन छल्ने काम गरेको नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आरोप लगाए ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टीले पनि प्रदेश सभा पटक-पटक स्थगित हुनुलाई राम्रो मानेको छैन ।
संसदीय दलका नेता जयराम यादवले दलहरुसँग छलफल नै नगरी प्रदेश सभा स्थगित गराइएको आरोप लगाए । ‘सरकार जनताप्रति उत्तरदायी देखिएन,’ यादवले भने, ‘प्रदेश सभा निरन्तर सूचना टाँस गरेर स्थगित हुनु राम्रो होइन ।’
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सभा बैठक स्थगित हुनुलाई सामान्य रुपमा लिएका छन् । उनले एमालेहरुको सरकारमा बहुमत पुग्ने भएकोले माओेवादी केन्द्र सरकारमा नचाहिने भएकाले उनीहरुलाई प्रतिपक्षको ठाउँमा व्यवस्थापनको लागि पनि प्रदेश सभा स्थगित भएको हुनसक्ने बताए ।
यसअघि प्रतिपक्षमा कांग्रेसलाई सिट व्यवस्थापन भएको थियो, अहिले माओवादी केन्द्र पनि प्रतिपक्षमा हुने भएपछि त्यसका लागि केही समय लाग्छ भन्ने जानकारीमा आएको उनले सुनाए । अर्को समस्याको रुपमा रहेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १७ जना सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि मात्र सदन सुचारु हुनसक्ने स्पष्ट पारे ।








