अफगानिस्तान–इरान सीमामा १ सय बढी तेल ट्यांकरमा आगलागी

एजेन्सी । इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्यांकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा ल्याइए पनि उक्त घटनाको छानबिन र अनुसन्धान सुरु भइसकेको अधिकारीहरुले बताएका छन् ।
हेरात प्रान्तका गभर्नरका प्रवक्ता जैलानी फरहादले आगलागीबाट १०० वा २०० ट्यांकर जलेर ध्वस्त भएको बताए । उनले घटनाको अनुसन्धानबाट मात्र यथार्थ विवरण प्राप्त हुनसक्ने जानकारी दिए।
उनले उक्त आगलागीका कारण करिब २० व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको समेत पनि बताए ।
सामाजिक सञ्जालमा राखिएका भिडियो फुटेजमा आकाशमा धुँवाको ठूलो मुस्लो देखिएको त्यहाँका स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।
अफगान अर्थमन्त्रालयले आगलागीबाट ठूलै आर्थिक क्षति भएको बताउँदै इन्धन, ट्यांकर र भन्सार कार्यालयहरुमा क्षति पुगेको बताएको छ ।
हेरात चेम्बर अफ कमर्शका प्रमुख युनुस क्वाजी जादाले प्रारम्भिक विवरणमा दशौं लाख डलर बराबरको क्षति पुगेको बताए । हेरात प्रान्तका धेरैजसो स्थानमा आइतबार विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।
इस्लाम क्वाला अफगानिस्तानको एउटा महत्वपूर्ण व्यापारिक नाका हो । यस नाकाबाट इरानसँगको अधिकांश व्यापारिक कारोबार हुने गर्दछ ।
अमेरिकी प्रतिबन्धका बावजुद इरानबाट तेल र ग्यास आयात गर्न अमेरिकाले अफगानिस्तानलाई छुट दिएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खाटीबजादेहले आगलागीको घटना हुँदा इरानतर्फको सीमालाई केही समय खुला गर्नु परेको जानकारी दिए ।
दुवै मुलुकका अग्निनियन्त्रकलाई तत्काल परिचालन गरिएको पनि उनले बताए ।
उनले आगलागीको घटना भएलगत्तै नजिकैको सुरक्षा जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताए ।








