‘जनयुद्ध ऐतिहासिक आवश्यकता थियो’

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालको बलिदानी ऐतिहासिक आवश्यकता रहेको बताएका छन् । शनिबार भृकुटीमण्डपमा गंगा कार्कीको ‘विश्व’को ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
‘हिजोको बलिदानी ऐतिहासिक आवश्यकता थियो’, दाहालले भने, ‘कतिपयले नेतृत्वका कारण यस्तो भएको भनेर भन्छन् । तर, वास्तवमा त्यसो थिएन ।’
जनयुद्धको सुप्रिम कमाण्डर आफू भएको स्मरण गर्दै दाहालले उक्त युद्धलाई शान्तिमा ल्याउन सफल भएको पनि बताए । ‘युद्धलाई शान्तिमा, शान्तिलाई संविधानमा र संविधानलाई संघीय लोकतन्त्रमा ल्याउन सकेँ’, दाहालले भनेका छन्, ‘तर, आज आएर यो हालत भएको छ । यसविरुद्ध हामी सबै उठ्नु जरुरी छ ।’
सबैले आफूलाई नै आरोप लगाउने गरेको दुखेसो पोखाउँदै दाहालले बढी व्यक्तिकरण गरिएको आरोप लगाए । ‘केही साथीलाई चाहिँ सबै कुरा मैले नै गरेको हुँ भन्ने भएको छ’, दाहालले भनेका छन्, ‘तर, त्यसो होइन । त्यो एउटा आवश्यक्ता नै थियो, समय नै थियो । बढी व्यक्तिकरण गर्न खोजिएको छ, कोशिश गरिएको छ ।’
यसैबीच दाहालले शहीदहरुको सपना पूरा गर्ने ठूलो जिम्मेवारी आफ्नो काँधमा भएकोसमेत बताए । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा उठाएको एजेण्डाहरुले अहिलेसम्म मूर्तरुप नपाउँदा आफूलाई दुःख लागेको सुनाउँदै दाहालले भनेका छन्, ‘मलाई दुःख लागेको छ ।’
यस्तै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इङ्गित गर्दै सिद्धान्त सिद्धान्त भनेर मात्रै नहुने औंल्याए । ‘सिद्धान्त सिद्धान्त भन्याछ । कुद्याछ । देश कहाँ पुगिसक्यो थाहा छैन’, दाहालले भनेका छन्, ‘मजति क्रान्तिकारी कोही छैन भनेर मात्रै हुँदैन ।’








