सम्भावित स्थानीय व्यवसाय पहिल्याएर अघि बढाउन अध्यक्ष ढकालकाे आग्रह

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् ।

बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एक ढिक्का भएर गम्भीरता पूर्वक कार्य गरिरहेको बताए ।

‘स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ, र त्यो कार्य गर्न संघहरु नै सक्षम छन्। तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ, नीतिगत लबी गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्पर छ,’ ढकालले भने ।
वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गरे । चुनावका बेला जस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उनले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गरे ।

उनले तिक्तता र पक्ष विपक्ष भएर चुनावमा उठे पनि सबै उम्मेदवार बीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा ढकालले लुम्बिनी केबलकार प्रालिद्वारा निजीक्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटवल –३ स्थित गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ वसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया