टेलिकमको कुल आय पहिलो ६ महिनामा साढे ३१ करोडले घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल टेलिकमको सेवा वापतको कुल आयमा ३१ करोड ४६ लाख ६२ हजार रुपैयाँले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यो १ दशमलव ७४ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षाको विवरण सार्वजनिक गर्दै टेलिकमले यस्तो जानकारी दिएको हो ।
टेलिकमले गत आर्थिक वर्षको पहिलो ६ महिनामा १८ अर्ब ३ करोड ९५ लाख ७६ हजार ८९ रुपैयाँ कुल सेवा वापतको आम्दानी गरेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार ५ सय ३ रुपैयाँ मात्र रहेको जनाएको छ ।
कोभिड–१९ महामारीको प्रत्ययक्ष असर व्यापार व्यवसायमा परेको, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने ब्याज आम्दानी घटेको, महामारीका समयमा ग्राहकलाई सस्तो दरमा डाटा प्याकेज उपलब्ध गराएको र यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रवाहमा भारी गिरावट आएकोलगायत कारणले कम्पनीको कुल सेवा बापतको आम्दानी घटेको जनाएको छ ।
यी बाहेक बाह्य स्रोतबाट प्राप्त जनशक्तिको ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि र विदेशी मुद्राको सटही दरमा भएको वृद्धिले कुल सेवा वापतको आय कम हुन गएको टेलिकमले जनाएको छ ।
चालू आवको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा कुल सेवा वापतको आम्दानी ४५ करोड ४२ लाख ३३ हजार ४ सय २१ रुपैयाँले बढेको पनि कम्पनीले जानकारी दिएको छ । चालू आवको पहिलो त्रैमासमा यस्तो आम्दानी ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ रहेकोमा दोस्रो त्रैमासमा ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ रहेको जनाएको छ ।
कम्पनीको चालू आवको पहिलो त्रैमासको तुलनामा खुद मुनाफा रकम पनि २५ करोड ३८ लाख ५५ हजार ६ सय ९७ रुपैयाँले बढेर १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ पुगेको छ । कम्पनीको खुद मुनाफा चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ रुपैयाँ रहेको थियो ।








