सिभिल बैंकले शुरु गर्यो क्युआर कोडमार्फत नगदरहित अभियान

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुली माडीमा आयोजित एक कार्यक्रमका बीच सो अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पाेको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोडमार्फत भुक्तानी गरी उक्त अभियानको शुभारम्भ गरेका छन् ।
कार्यक्रमका बैंकका तर्फबाट गभर्नर अधिकारीले सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पाे (तीन पाङ्ग्रे सवारी) तथा ३४ व्यापारीलाई क्युआर कोड वितरण गरेका छन् ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य भएको बताए । नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने उनको भनाइ छ ।
सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलले क्युआर कोड प्रविधिको प्रभावकारिताबारे प्रष्ट पारे । बैंकले आफ्नो ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणालीमार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यममा पनि क्युआर कोडलाई अझ देशव्यापी बनाउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक भूवन कँडेल, राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्ट, बागमती प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उद्योग वाणिज्य संघ सिन्धुलीका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, टेम्पाे यातायात व्यवसायी, राजनैतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो ।











