पेट्रोलियमकाे मूल्य वृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं । सरकारले बिहीबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिन यातायात व्यवसायीले माग गरेका छन् । कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउन खुलेर बल्ल मानवीय गतिविधिले निरन्तरता पाउन थालेको बेला सरकारले गरेको मूल्य वृद्धिले आम नागरिकलाई थप आहत पार्ने भन्दै मूल्यवृद्धि फर्ता लिन उनीहरुले माग गरेका हुन् । महामारीले नै संकट पारेको बेला पटक–पटक मूल्य बढाउनु उचित नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मकालु खबरलाई बताए ।
‘यसै पनि कोभिड महामारी, राजनीतिक परिस्थितिले आम नागरिकलाई आहत पारेको छ, रोजगारी, आम्दानी गुमेको छ,’ महासचिव सिटौलाले भने, ‘त्यसमाथि कोरोना सुरु भएयता मात्रै सरकारले ३ पटक पेट्रोलियम पदार्थमा मूल्य बढाइसकेको छ ।’ यसअघि सरकारले पुस १६ र माघ ५ गते पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियो ।
सरकारले गरेको मूल्य वृद्धिले बल्ल सञ्चालन आउने लागेको सार्वजनिक यातायात क्षेत्रलाई नराम्रोसँग घाटामा पर्ने उनले बताए । ‘सरकारले मूल्य बढाउँदै जाने र यातायात व्यवसायीले चाहिँ उही भाडादरमा यातायात सञ्चालन गरिरहने हो भने यातायात व्यवसाय पनि धराशयी हुन्छ,’ उनले भने, ‘यसै पनि कोरोना कालमा यातायात व्यवसायले पूर्ण रुपमा बन्द भएर बस्नु परेको थियो ।’
सरकारले २०७५ सालमा सवारी साधनको भाडामा १० प्रतिशतले वृद्धि गरेको थियो । पेट्रोल र डिजेलमा भएको मूल्य वृद्धिलाई मात्रै आधार बनाएर भाडा समायोजन गरेको थियो । तर, सवारी साधनका पार्टपुर्जा, लुब्रिकेन्टलगायत सबै सामानमा बढेको मूल्यलाई आधार बनाएर भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग रहँदै आएको महासचिव सिटौलाले बताए ।
‘हामीले वैज्ञानिक भाडा दर लागू हुनपर्छ भनेर भनिरहेका छौं,’ उनले भने, ‘२०६५ साल लागू भएको वैज्ञानिक भाडा समायोजनकार्यविधि अनुसार २०६९ सालमा भाडा समायोजन भएपछि त्यसयता वैज्ञानिक भाडा समायोजन भएको छैन ।’ सरकारले पेट्रोलियम पदार्र्थमा स्वचालित मूल्यको नाममा मूल्यबढाउने गरेको तर यातायातमा भने वैज्ञानिक भाडादर लागू गर्न नचाहेको उनले बताए ।
महासंघले बैठक बसेर साँझसम्म सरकारले पेट्रोलिमय पदार्थमा गरेको मूल्य वृद्धि, यातायात भाडा समायोजन र महासंघको धारणाबारे स्पष्ट पार्ने उनले बताए ।








