सिटिजन्स बैंक र कर्मभूमि समाजबीच साना उद्यमलाई सहयोग गर्ने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता भएको छ । नेपालीे जनशक्तिलाई रोजगारी र उद्यममा जोड्ने उदेश्यले बैंकले यो सम्झौता गरेको जनाएको छ ।
जोश जाँगर भएका, मेहनत गर्न सक्ने व्यक्ति र त्यस्ता व्यक्तिले आर्जन गरेको सीप तथा प्रविविलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने उद्देश्यले यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले गरेको छ ।
कर्मभूमि समाजले व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसँग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्थापन हुने, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीले भोग्नु परेको समस्यालाई समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।
सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्न विभिन्न सुविधा र सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीलाई उचित वित्तीय कारोबार अभ्यासको अनुशरण गर्न र देशको कानून र नियमनको पालना गर्न यस बैंकले सदैव मद्दत गर्दै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ इकाइबाट करिव सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा पुर्याे आएको छ ।








