नेप्सेको उकालो यात्रा कायमै, ३७ अंकले बजार बढ्दा साढे १० अर्बको कारोबार

काठमाडौं । सेयर बजार सोमबार पनि बढेको छ । बजार परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स समेत ७.२८ अंकले बढेर ४६६.६० विन्दुमा पुगेको छ ।

साताको पहिलो दिन आइतबार ४८.७४ अंकले बढेर २५ सय विन्दुबाट उकालो लागेको नेप्से सोमबार भने २६ सय विन्दुतर्फ  उकालो लागेको हो ।

कारोबार रकम पनि आइतबारको तुलनामा केही मात्र बढेको छ । सोमबार १० अर्ब ६१ करोड ९१ लाखमा ६३ हजार रुपैयाँमा २ करोड ११ हजार कित्ता सेयर किनबेच भयो । आइतबार १० अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन व्यापार, जलविद्युत्, निर्जीबन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स समूहको परिसूचक राता भए । यी बाहेक अरु सबै परिसूचकहरु हरिया देखिएका छन् ।

सोमबार कारोबार रकमका हिसाबले सोमबार सबैभन्दा बढी प्रभु बैंकको ५८ करोडको सेयर कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ३२ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड, डिप्रोक्स लघुवित्तको ३१ करोडको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको २८ करोड, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड, फस्र्ट माइक्रो फाइनान्सको २६ करोड, हिमालय डिस्टिलरीको २१ करोड, एनआइसी एसियाको १९ करोड, नेपाल बैंकको १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कमाउने कम्पनीहरुमा ग्रामीण विकास लघुवित्त, प्रभु बैंक, प्रभु बैंकको प्रवद्र्धक सेयर, सनराइज बैंक, माछापुच्छ्रे बैंक, चन्द्रागिरी हिल्स लिमिटेड, गरिमा विकास बैंक, सुर्योदय लघुवित्त, नेपाल फइनान्स र मञ्जुश्री फाइनान्स रहेका छन् ।

प्रतिक्रिया