मृत्युमा जीवन खोज्ने र कुण्ठामा रमाउने प्रवृत्ति हाबी भयो : ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले नेकपाको प्रचण्ड–नेपाल समुहका नेतामा ‘मृत्युमा जीवन खोज्ने र कुण्ठामा रमाउने’ प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । नेकपा ओली समूहको बागमती प्रदेश संगठन कमिटीले शुक्रबार नारायणीहिटी दरबार अगाडि आयोजना गरेको वृहत् जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

हामी राजनीतिक स्थायित्व र आर्थिक विकास गर्न खोज्दै छौं,’ उनले भने, ‘उहाँहरु मृत्युमा जीवन खोज्दै र कुण्ठामा रमाउन खोज्दै हुनुहुन्छ ।’ प्रचण्डले नेतृत्वमा भएकाे सशस्त्र युद्ध र माधव कुमार नेपालकाे नेतृत्वमा माैलाएकाे गुटप्रति इंगित गर्दै उनले यस्ताे बताएका हुन् ।

पाँच वर्षका लागि निर्वाचित भएका प्रधामन्त्री केपी शर्मा ओलीलाई बिचबाटै धक्का दिएर हटाउन खोज्दा आजको परिस्थिति आएको उनले बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाएको राजनीतिक स्थायित्व र आर्थिक विकासको मुद्दालाई कमजोर बनाउन र नेकपालाई धराशयी बनाउन उहाँहरु लागि पर्नु भएको छ,’ उनले भने, ‘प्रतिकुलतासित जुधेर हामी मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री केपी ओलीले गरेको अठोट र संकल्पअनुसार मुलुकको स्थायित्व र आर्थिक विकासका लागि डटेर लाग्ने छौं ।’

केपी ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको र यसै पार्टीले आधिकारिकता पाउने र सुर्य चिन्ह पनि यही पार्टीले पाउने दाबी समेत उनले गरे ।

प्रतिक्रिया