हेटाैंडामा सुविधासम्पन्न बस टर्मिनल बनाउन साढे २० कराेड ऋण सम्झाैता

काठमाडाैं । हेटौंडा उपनगरपालिकामा व्यवस्थित वस टर्मिलन भवन निर्माणका लागि उपमहानगरपालिका र नगर विकास कोष बीच २० करोड ६९ लाख रूपैयाँको ऋण सम्झौता भएको छ । उपनगरपालिकामा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका र नगर विकास कोष बीच हेटौंंडा बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता सम्पन्न गरिएको कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत बीच २० करोड ६९ लाख ९८ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

बस टर्मिनल भवन आयोजनाको निर्माणको कुल अनुमानित लागत ३४ करोड ४९ लाख ९७ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

बाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको सौन्दर्यताको लागि सुविधासम्पन्न यस बस टर्मिनल भवन क्षेत्रमामा सानाठूला गरि १३० ओटा गाडीहरु एकै साथ पार्किङ्ग गर्न सकिने सुविधा रहने छ ।

उक्त व्यवसायिक भवनभित्रको २ तले अन्डरग्राउन्ड पार्किङ मा ९० वटा चार पाङग्रे र २५० वटा दुई पाङग्रे सवारी साधनका लागि पार्किङ्ग सुविधा रहने जनाइएको छ।

यसले हेटौडा बजारमा रहेको अव्यवस्थित पार्किङ्गलाई न्युनिकरण गरी व्यवस्थित र सुविधायुक्त पार्किङ्ग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस आयोजनाबाट उपमहानगरपालिकाको आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास कोषले व्यक्त गरेको छ ।

ऋण सम्झौताका क्रममा उपमहानगरपालिका प्रमुख हरीबहादुर महतले नगर विकास कोषसँगको सहकार्यतामा थप नँया आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै ऋण लगानीबाट पनि दिगो शहरी पूर्वाधार निर्माण गर्न सकिने कुरा व्यक्त गरे ।

सोहि अवसरमा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषको हेटौडा उपमहानगरपालिकासँगको सम्बन्ध पुर्नस्थापित भएको र सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजनाको परिकल्पना अनुसारको निर्माण कार्य समयमा सम्पन्न हुने आशा समेत व्यक्त गरे ।

प्रतिक्रिया