प्रचण्डको स्पष्टीकरण ‘मैले एमसीसीको समर्थन गरेको छैन’

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको समर्थन नगरेको स्पष्टीकरण दिएको छन् । प्रचण्डले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे यसो भनेका हुन् ।
एमसीसी छलफलकै क्रममा रहेको बताउँदै प्रचण्डले भनेका छन्, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन । हामी छलफलकै क्रममा छौँ ।’
बिहीबार आफ्नो पार्टीले गरेको आमहड्तालका क्रममा एमसीसीविरुद्ध लागेको नारा प्रचण्डले रोकेका थिए । ‘हिजो हामीले संवैधानिक परिषद्को ज्यादतिपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, प्रचण्डले भनेका छन् ।
यस्तै प्रचण्डले आफूले केहीदिन अघि अमेरिकी राजदूतसँग कुरा गर्दा पनि एमसीसी परिमार्जन गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको बताए । प्रचण्डसँगै अन्य धेरै नेकपा नेताहरुले एमसीसी जस्ताको तस्तै पारित नगर्ने अडान राखिरहेका छन् । गत बैशाखमा गठित नेकपा कार्यदलले पनि यसलाई परिमार्जन गरेर मात्रै लागू गर्न भनेको थियो ।








