ईश्वर पोखरेल चढेको गाडीलाई लक्षित गरी ढुङ्गा प्रहार

नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेता/कार्यकर्ताहरुले तोडफोडको प्रयास गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरेर विद्यार्थी नेता तथा कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका थिए । जिल्ला प्रशासन कार्यालय, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दिएको जानकारी अनुसार उपप्रधानमन्त्री पोखरेलको गाडीमा भने क्षति भएको छैन । ‘मन्त्रीज्यूको गाडीतर्फ लक्षित गरेर ढुंगा हानिएको थियो’, अधिकारी ढकालले मकालु खबरसँग भनेका छन्, ‘तर, गाडी र मन्त्रीज्यूलाई भने केही क्षति भएको छैन ।’

अधिकारी ढकालका अनुसार उपप्रधानमन्त्री पोखरेलको गाडीलाई लक्षित गरिएको ढुंगाले छेउमै रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ । कार्यकर्ताहरुले बल प्रयोग गर्न खोजेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाएको अधिकारी ढकालले बताएका छन् ।

सो क्रममा तीन जना कार्यकर्ताहरु घाइते भएको बताइएको छ । हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल कार्यक्रममा सहभागी भइरहेका छन् ।

नुवाकोटको सदरमुकाम विदुरमा सोमबार हुने कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री पोखरेलसँगै उद्योगमन्त्री लेखराज भट्टलगायत त्यतातर्फ गएका थिए ।

प्रतिक्रिया