प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपहेलना मुद्दा दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहँदा प्रधानमन्त्री ओलीले बहसमा सहभागी वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी दिएको अभिव्यक्तिले सर्वोच्चकै अपहेलना गरेको भन्दै मुद्दा दायर भएको हो ।

ओलीले गत ९ माघमा कार्की बैङ्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेला कार्यक्रममा बाजे वकिल भन्दै अभिव्यक्ति दिएका थिए । ‘प्रधानमन्त्रीले सर्वोच्चमा जारी बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजेजस्ता निन्दायुक्त शब्दको सार्वजनिक रुपमा प्रयोग गरेर र अदालत र कानून व्यवसायीलाई हाँस्यपात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा ४ बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ’, दायर गरेको मुद्दामा भनिएको छ, ‘नेपालको संविधानको धारा २० ले कानून व्यवसायीलाई संरक्षण प्रदान गरेको छ । कानून व्यवसायी परिषद् ऐन २०५० को दफा २२ ले कानून व्यवसायीलाई अदालतमा उपस्थित हुने र बहस पैरवी गर्ने अधिकार दिएको छ भने दफा २४ मा कानून व्यवसायीलाई विशेष सुविधा दिएर अदालतमा बोलेको कुरालाई संरक्षण प्रदान गरेको छ ।’

प्रतिक्रिया