वार्षिक ५० लाखसम्म कारोबार गर्ने व्यवसायीलाई गण्डकी सरकारले निर्व्याजी ऋण दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यवसायीलाई निव्र्याजी ऋण दिने भएको छ । कोभिड–१९ बाट प्रभावित भएका पर्यटन, यातायात, कृषि, सेवा क्षेत्र गरी १७ किसिमका उद्यम व्यवसाय गर्ने उद्योगी व्यवसायीलाई राहत स्वरुप यस्तो ऋण दिन लागेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले व्यवस्था गरेको रु. १ अर्ब बराबरको व्यवसाय जीवन रक्षा कोषबाट यस्तो सहायता दिन लागेको हो । यसका लागि प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोष(सञ्चालन) कार्यविधि २०७७ समेत पारित गरिसकेको छ । कार्यविधि अनुसार व्यवसायको प्रकृति अनुसार ५० हजारदेखि १५ लाख रुपैयाँसम्म ऋण दिइने छ । ऋणका लागि सामुहिक तथा व्यक्तिगत जमानी र धितो अनिवार्य गरिएको छ । ऋणको व्याजदरभने बैंकको आधार दरमा ३ प्रतिशत थप गरी नेपाल राष्ट्र बैंकले शोधभर्नाको रुपमा बैंकहरुलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसको अर्थ ऋण लिने व्यवसायीले भने व्याज तिर्नुपर्ने छैन । तर, ऋणको भुक्तानी अवधी भने ३ वर्षको मात्र राखिएको छ ।

ऋण लिनका लागी कुनै बैंकिङ कसुर नलागेको, कालोसूचिमा नपरेको, व्यवसाय दर्ता रहेको, व्यवसाय सुरु गरेको १ वर्ष पुगेको हुन पर्ने शर्त उल्लेख छ ।

ऋण प्राप्त गर्न सक्ने उद्यमी तथा व्यवसायीअन्तर्गत घरेलु तथा साना उद्यमअन्तर्गत १७ प्रकारका, साना पर्यटन व्यवसायअन्तर्गत १० प्रकारका, यातायातअन्तर्गत ६ प्रकारका, सेवामूलकअन्तर्गत ११ प्रकारका छन् । कुल ४४ प्रकारका व्यवसाय गर्नेले यस्तो ऋण प्राप्त गर्ने भएका छन् ।

कार्यविधिअनुसार प्रदेश सरकारले सहायता प्राप्तीका लागि २१ माघदेखि २० फागुनसम्म बैंकहरु मार्फत आवेदन दिन सूचना समेत जारी गरेको छ । उक्त सूचनाअनुसार नेपाल बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, मेगा, एभरेष्ट, नेपाल बंगलादेश, सिभिल, राष्ट्रिय वाणिज्य, एनआइसी एसिया, ग्लोबल आइएमई, कुमारी, माछापुछ्रे, प्राइम, नेपाल इन्भेष्टमेन्ट, एनसिसी, सनराइज गरी १८ ओटा बैंकबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

यस्ताे छ सूचना 

प्रतिक्रिया