नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन

काठमाडाैं । नेपाल मैदा उद्योग संघको २२औं बार्षिक साधारण सभाले कुमुद कुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्विराेध चयन गरेकाे छ । माघ २ गते काठमाडाैंमा सम्पन्न सभाले दुगडलाई अध्यक्ष चुनेकाे हाे ।

अध्यक्ष दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका थिए । आजको सभाले संघको नयाँ नेतृत्वको लागि पुनः उनलाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको हाे ।

यस्तै सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्धितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

यसैगरी मु.अ.करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा मु.अ.कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने, मैदा नेपालमै आत्मनिर्भर भइसकेकाे हुँदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनुपर्ने, कच्चा पदार्थ गहुँ र तयारी वस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनुपर्ने लगायत निर्णयहरू पारित गरी सम्बन्धित निकायमा पहल गर्ने निर्णय पनि सभाले गरेकाे छ ।

सभाले गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनुपर्ने,  गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाइ उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत हुनपर्ने, कमसेकम अफ-सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलियत दरमा गहुँ आयात गर्न पाउनु पर्ने, फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनुपर्ने, नेपालमा गहुँ उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने, मैदा निर्यातमा दिँदै आएको निर्यात अनुदानलाई पुन: ५ प्रतिशत कायम हुनुपर्ने निर्णयहरु पनि पारित गरी सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेकाे नेपाल मैदा उद्योग संघले जनाएकाे छ ।

प्रतिक्रिया