प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशले असंवैधानिक कदमविरुद्ध आन्दोलनको घोषणा गरिएको जानकारी दिए ।

संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन ।

यस्ता छन् आन्दोलनका कार्यक्रम
– पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
– पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
– पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
– २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
– २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
– २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
– २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
– २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
– २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला ।
– ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
– ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
– १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
– १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
– २२ माघमा वडा तहमा मसाल जुलुस ।
– २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।

प्रतिक्रिया