भक्तपुर उत्कृष्ट प्रदेश अस्पताल

भक्तपुर । भक्तपुर अस्पताल उत्कृष्ट प्रदेश अस्पताल भएको छ। स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ८२ अङ्क प्राप्त गरी भक्तपुर अस्पताल प्रदेश अन्तर्गतका अस्पतालहरुमध्ये उत्कृष्ट बन्न सफल भएको हो ।

अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरि न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो।

अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले जानकारी दिए। गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनुपरेको थियो।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले अस्पताल सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अवस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको चर्चा गरे। स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुइले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाइमा पु¥याउन अस्पतालको सिङ्गो परिवार लाग्नुपर्नेमा जोड दिइन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा रोशन न्यौपानेले भक्तपुर अस्पताल भक्तपुरवासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताए।

कार्यक्रममा भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले भक्तपुर अस्पतालको गत वर्षको अङ्कले निरास बने पनि यस वर्षको प्रगतीले सबैलाई हर्षित बनाएको भन्दै यसलाई कायम राख्नु र थप प्रगति गर्नु अस्पतालको लागि चुनौती थपिएको बताए।

अस्पताल सञ्चालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसियु सेवा दिन समेत सफल भएको छ। आधा दर्जन भेन्टिलेटरसहित आइसीयू सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै दुई दर्जन बेडसहित अस्पतालले एचसियु सञ्चालन गरेको छ।

भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ। यसअघि रिफर सेन्टरको रुपमा रहेको अस्पताल अहिले बिरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ। यसअघि भक्तपुर अस्पताल वाग्मती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको थियो। गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनोट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो।

प्रतिक्रिया