ओलीले बैशाखमा चुनाव गराउँछु भनेर भ्रम मात्र छरेका हुन् : डा. शर्मा

मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुने दाबी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ ले बेलबारीमा गरेको विरोध सभालाई सम्बाेधन गर्दै डा. शर्माले यस्तो दावी गरेका हुन् ।

बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी गर्दै नेता शर्माले आफ्नो पक्षमा जनलहर नभएका बेला ओलीले कुनैपनि हालतमा चुनाव नगराउने जिकिर गरे । ‘हामीलाई मुर्ख नसम्झिए हुन्छ । बैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन’ डा.शर्माले भने–‘आफ्नो पक्षमा जनलहर नभएका बेला प्रधानमन्त्रीले चुनाव गराउँछु भनेर भ्रम मात्र छरेका हुन् ।’

कांग्रेस चुनावदेखि डराएर नभाग्ने भएपनि चुनाव विधिसंवत् हिसाबले हुनुपर्ने उनको तर्क छ । देशव्यापी कार्यक्रम अनरुप कांग्रेस क्षेत्र नं. ३ ले पनि संसद् विघटनको विरोधमा विरोध जुलुस र सभा गरेको हो । विराटचौकमा भेला भएका कांग्रेसका सयौँ नेता, कार्यकर्ता संसद् विघटनविरुद्ध नाराबाजी गर्दै बेलबारी पुगेका थिए ।

जुलुसपछि बेलबारीमा आयोजित सभालाई सम्बाेधन गर्दै कांग्रेस नेताहरु बसन्त भट्टराई, ललित श्रेष्ठ, महेन्द्र सुवेदी, केशव निरौला, सुयर्माराज राई, गणेश खड्का लगायतले असंवैधानिक रुपमा संसद् विघटन गरेर नेकपा सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया