चितवनमा प्रचण्ड-नेपाल समूहको भेला

चितवन । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूह चितवनले अगुवा कार्यकर्ता भेला गरेको छ । पूर्व माओवादीको पार्टी कार्यालय कृष्णपुरमा एक दिने भेला गरेको हो ।
भेलामा विघटित प्रतिनिधि सभाका सांसद सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पान्डेले प्रधानमन्त्री केपी ओली व्यवस्था नै फेर्ने प्रयासमा रहेको आराेप लगाए । संसद विघटन गरी देश अदालतलाई सुम्पदै ओलीले आफ्नाे उल्टाे यात्रा शुरु गरेको उनको दावी थियाे । प्रधानमन्त्री ओलीमा सर्वसत्तावादी साेच रहेका कारण देशलाई अध्याराेतर्फ धकेल्ने प्रयास भएको उनको टिप्पणी थियाे । कार्यक्रममा केन्द्रीय सदस्य रेनु दाहालले प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाइ जेल हाल्ने षड्यन्त्र गरिरहेकाे दावी गरिन् । ९९ प्रतिशत कार्यकर्ताले प्रचण्ड नेपाल समुहको नेकपालाइ साथ दिएकाेले ओलीका सबै कदम असफल हुने उनको दावी थियाे ।
कार्यकर्ता भेलामा केन्द्रीय सदस्य सुर्य सुवेदी पथिक, कृष्ण खनाल, सांसद कृष्णभक्त पाेखरेल लगायतका नेताहरुले प्रधानमन्त्री ओलीले सबैधानिक कू गरेको भन्दै यसकाे विराेधमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन दिएका थिए । नेकपा चितवनले साेही भेलाबाट ओली सरकारका विरुद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।








