आफ्नो पद धरापमा पर्यो भन्दैमा तरबार चलाउँदै सबैलाई काटिदिने ?

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले भने,‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन । यो रकम काट्न मिल्दैन । प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो नि ।’

उनले संसद विघटन गैरसंवैधानिक रहेको तर्क पेश गरे । उनले अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जिकिर गरे । उनले भने, ‘अहिलेको अवस्था र अन्यौलबाट मुलुकलाई बचाउनको लागि हामीले अदालतमा बिन्ती गरेका छौँ । हामीले संसद चलाउनको लागि सभामुखलाई पनि आग्रह गरेका छौँ । अहिले चुनावको कुरा गरिएको छ, ओलीले गरेको कुरा नक्कली कुरा हो । यसले सक्कली कुरा लुक्दैन ।’

प्रतिक्रिया