नेकपा विवाद उत्कर्षमा पुगेको बेला सभामुखविरुद्धको मुद्दामा पेशी तोकियो

काठमाडौं । नेकपा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला सभामुख अग्नी प्रसाद सापकोटाको मुद्दामा सर्वोच्च अदालतले पेशीमा चढाएको छ । सापकोटाको मुद्दामा अन्तिम पटक विसं २०७६ फागुन ३० गते पेशीमा चढाइएको थियो । त्यसबेला हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाइ सरेको थियो ।

सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले विसं २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेशीमा चढेको हो । जुन मुद्दालाई १९ पटकसम्म सुनुवाइ तोकिइसकिएको छ ।

२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन वटा मुद्दा रहेका छन् ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले विसं २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन छ ।

तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा अहिले ‘फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकिर गर्दै विसं २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दा सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो ।

प्रतिक्रिया