नेकपामा छुट्टै प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री, १८ गते स्थायी कमिटी बैठक

काठमाडौं । पुनः १० दिनपछि बस्नेगरी आज बसेको नेकपा सचिवालय बैठक सकिएको छ । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्को सचिवालय बैठकमा आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको आजको बैठकमा आफूले अर्को बैठकमा आफ्नो तर्फबाट अर्को प्रतिवेदन पेश गर्ने बताएका हुन् । यससँगै आजको बैठक १० दिनसम्मको लागि स्थगित भएको हो ।
यस्तै आउँदो १८ मंसिरमा नेकपा स्थायी बैठक राखिने भएको छ भने २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइने भएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्–‘पार्टीमा देखा परेको समस्या अथवा पार्टीको संकटलाई लिएर त्यसको निवारणसम्बन्धी विषयमा छलफल गर्न आजको सचिवालय बैठक राखिएको हो । यस बैठकले कमरेड अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव प्रस्तुत गर्ने कुरा सचिवालयमा जानकारी गराइएको छ । अध्यक्ष कमरेड केपी ओलीको प्रस्ताव समेतलाई लिएर अब मंसिर १३ गते सचिवालयको बैठक बस्नेछ । र, सचिवालयको बैठकमा पार्टीको संकट र निवारण सम्बन्धमा यसअगाडि प्रस्तुत सबै सामाग्री र प्रस्ताव अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्ने प्रस्तावसमेतका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिनेछ । यसअघि नै निर्धारित केन्द्रिय कमिटीको बैठकको कार्यतालिकामा केही परिवर्तन गरिएको छ । जसअनुसार मंसिर १८ गते स्थायी कमिटीको बैठक बस्नेछ र मंसिर १५ गते बस्ने भनिएको केन्द्रिय कमिटीको बैठक मंसिर २५ गते बस्ने भनिएको छ ।”
यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।








