कोरोना संक्रमणका कारण दार्चुलामा एक युवाको मृत्यु

बैतडी । दार्चुलामा कोरोना संक्रमणबाट एक युवाको मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो ।
उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो ।
बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको बताए ।
यसैबीच जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ । युवकको उपचारमा अस्पतालका कर्मचारी खटिएका कारण कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आकस्मिकबाहकेका सबै सेवा बन्द गरिएको अस्पतालका डा. गजेन्द्र दुवालले बताए ।
अस्पतालले आकस्मिक र प्रसुति सेवाबाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।








