प्रधानमन्त्रीलाई बामदेव गौतमले भने–‘तपाईँ सच्चिनुको विकल्प छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । आइतबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटका क्रममा उपाध्यक्ष गौतमले प्रधानमन्त्रीसमेत रहेका ओलीलई यस्तो आग्रह गरेका हुन् ।

करिब १ घण्टा लामो भेटवार्ताका क्रममा उपाध्यक्ष गौतमले अध्यक्ष ओलीलाई पार्टीभित्र समस्या देखिनुको कारण ओली नै रहेकोसमेत बताएका थिए । उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई आज बिहान छलफलको लागि बालुवाटारबाट निम्तो आएको थियो । त्यसपछि बालुवाटार पुगेका गौतमले ओलीलाई यस्तो बताएका हुन् ।

यसबीचमा ओलीले गौतमलाई फकाइरहेका छन् । यसअघि नै ओलीले गौतमलाई आफैँसँग सरकारमा सामेल हुन आग्रह गरिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र देखिएको समस्याको बारेमा मुख्य भूमिका निभाउन आग्रह गरिसकेका गौतमलाई ओलीले मन्त्री बनाउने भन्दै आफूलाई सघाउन आग्रह गरेको स्रोतले बताएको छ ।

सर्वोच्च अदालतको तर्फबाट आफू अनुकूलकै वातावरण बनेपछि मन्त्री बन्नसक्ने भएका गौतमले अहिले भने अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिइरहेका छन् ।

गत शुक्रबारको सचिवालयको बैठकलगत्तै पनि ओलीले उपाध्यक्ष गौतम र वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर छलफल गरेका थिए । त्योबेला पनि गौतमले ‘कार्यशैली नसच्याएर पार्टीभित्र झनै संकट पैदा हुन्छ’ भनी जवाफ दिएका थिए ।

 

प्रतिक्रिया