‘सबै शहरी सडकमा साइकल लेन बन्नुपर्छ’ शहरी विकासमन्त्री

काठमाडौं । शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा साइकल लेन छैन । अधिकांस निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् ।

मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साईकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका छन् । उनले साइकल लेन सहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबनाएको भए तत्काल बनाउन निर्देशन पनि दिएका छन् ।

साइकल प्रेमी अभियन्ताको तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए । मन्त्री श्रेष्ठले १० बुदे अनुरोधपत्र बुझ्दै शहर विकाससँगै साइकल लेनको विस्तार गर्नुपर्ने बताए ।
‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ ।’ मन्त्री श्रेष्ठले भने । साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाई कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिने मन्त्रीले बताएका छन् ।

उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबै सडकमा साइकल लेन बनाउन अगुवाई भुमिका खेल्ने जनाए ।
शहरी विकास मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद् लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने मन्त्रीको भनाई छ ।

कार्यक्रममा आफ्नो धारणा राख्नै सचिव डा. रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिबद्धता जनाउँदै भने–‘पोखरा, भरतपुर, काठमाडौ, विराटनगर, जनकपुर लगायत ठुला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ । त्यस बाहेक हाल निर्माणाधिन सडकमा साइकल लेन हुनैपर्छ ।’

केही शहरमा बाटोको कारण साइकल लेन बनाउन केही समस्या भएको जानकारी गराउदै अब नयाँ बन्ने सबै सहरमा साइकल लेन बन्ने पनि बताए । ‘वातावरण परिवर्तनबाट हुने असरलाई जोगाउन साइकल लेनले महत्वपुर्ण भुमिका राख्ने भएकोले मानव स्वास्थ्य र वातावरणको लागि साईकल लेन आवश्यक रहेको छ ।’ डा. सिंहले भने ।

शहरी सडक निर्माणको क्रममा योजना तय गर्न सोसाइटीलाई समेत सहभागिता जनाउने गरी व्यवस्था गर्ने भनिएको छ ।
सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र शहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो गरे । नयाँ सहर बनाइरहेको सरकारले अनिवार्य रुपमा साइकल लेन बनाउन सुझाब दिए । ‘नेपाल शहरी मापदण्ड–२०७६ स्वीकृत भै कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरुमा वर्गिकरण गर्नुपर्छ ।’ उनले भने ।

सडक करिडोर, रिङरोड र अन्य सबै शहरी सडकमा साइकल लेन निर्माण गर्न आग्रह गर्दै श्रेष्ठले साइकल लेनको अभावका कारण भएको दुर्घटनालाई रोक्न र निर्वाध रुपमा साइकलमा यात्रा सुरक्षित गर्न साइकल लेन बनाउनुपर्ने जिकिर गरे ।

सोसाइटीले महानगर, उपमहानगर र नगरपालिकामा साइकल लेन, साइकल स्टेण्ड निर्माण सहितको पाइलट प्रोजेक्ट शुरु गर्न टाउन डेभलपमेन्ट फन्ट स्थापना गर्न माग गरेको छ ।

सोसाइटीका सल्लाहकार सागर वन्तले विश्वका अधिकांस देशका सडकमा साइकल लेन निर्माण भएको स्मरण गराउदै नेपालका ठुला सडकमा पनि साइकल लेन बनाउन सुझाव दिए ।

सोही अवसरमा सोसाइटीले साइकलिष्ट, तथा वातावरणविद् प्रल्हाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झानामा कातिक १४ वा जन्मदिनमा साइकल दिवस मनाउन र साइकल प्रेमीएवं प्रशिक्षक श्याम श्रेष्ठको साइकल दुर्घटना भएको स्थल त्रिवि गेट नजिक साइकल पार्क निर्माण गर्नआग्रह गरिएको थियो ।

प्रतिक्रिया