कसैले रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री ओली

सङ्खुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताएका छन् । बुधबार सङ्खुवासभाको मकालु गाउँपालिका ५ को फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
चीनसँग सिमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिङ्कको रुपमा रहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाको कोशी करिडोर र सीमा सुरक्षा पोस्ट (बीओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्न प्रधानमन्त्री सङ्खुवासभा गएका थिए ।
उनले नागरिकको जनमतद्वारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैले रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पारे । उनले भने,‘बिहान बिहानै समाचार सुन्छु, सरकार परिवर्तन हुने भनेको सन्छु तर कसैको रहरमा सरकार परिवर्तन हुँदैन । नेकपा पार्टी साना–साना टुक्रा मिलेर बनेकाले फुट्दैन ।’
उनले दुई वर्ष अगाडि आफैले किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउने र भारतको जोगबनीदेखि किमाथाङ्कासम्मको तीन सय ९० मिटर उत्तर–दक्षिण कोशी करिडोर दुई लेनको सडक विस्तार गरी सञ्चालन गर्ने देखेको सपना बिस्तारै पूरा हुँदै गएको बाताए । प्रधानमन्त्री ओलीले सडक विस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक विस्तार गर्न समस्या देखिएपछि नेपाली सेनालाई जिम्मा दिइएको र अब चाँडै ट्र्याक खुल्ने विश्वास व्यक्त गरे।
नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार बिहान साढे नौ बजे सङ्खुवासभा पुगेका ओली साढे तीन बजे फर्किएका हुन् ।








