बिहीबार सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव, दिएनन् सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले कात्तिक २७ गते बिहीबार पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेको छ ।
प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सचिवालय बैठक बस्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मङ्गलवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकले बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरिएको र सो मितिमा बैठक बोलाउन ओली समेत सहमत हुने प्रवक्ता श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।
आज बैठकअघि प्रचण्डले ओलीसँग भेट गरेका थिए ।
प्रवक्ता श्रेष्ठका अनुसार बुधवार ओली काठमाडौँ बाहिर जाने पूर्व निर्धारित कार्यक्रम रहेकाले २७ गते बुधवार सचिवालय बैठक बोलाउन प्रचण्डले प्रस्ताव गरे पनि सहमति दिएका छैनन् ।
प्रवक्ता श्रेष्ठले भने, ‘आजको छलफलमा पनि २७ गते बस्ने कुरामा ओलीले सहमति जनाइसक्नुभएको छैन । प्रचण्डले प्रस्ताव गर्नुभए अनुसार भोलिको कार्यक्रम सकिएपछि सहमति जनाउनुहुनेछ भन्नेमा हामी विश्वास गर्छौँ ।’
श्रेष्ठले २७ गते बैठक नबोलाएमा के गर्ने भन्नेबारे निर्णय गरी नसकेको बताएका छन् ।
‘पार्टी एकतालाई बचाउँदै पर्सी बैठक बस्न सहमति जनाऔँ भनेका छौँ, अहिले पनि हामी बैठक नबसे के गर्ने भनेर सोचेका छैनौँ’ श्रेष्ठले भने ।
मङ्गलवारको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।
शुक्रवार पनि सचिवालयका बहुमत सदस्यको बैठक थियो । शुक्रवारको अनौपचारिक बैठकबाट सचिवालय बैठक बोलाउन ओलीसँग लिखित आग्रह गर्ने निर्णय गरिएको थियो ।
शनिवार सचिवालयका ५ सदस्यले ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गरे पनि ओलीले सहमति दिएनन् ।








