‘मविरुद्ध गुटबन्दी भयो, मैले किन बैठक बोलाउने ?’

काठमाडौं । तत्काल सचिवालय बैठकका लागि लिखित रुपमै माग गर्ने ५ जना नेकपा सचिवालय सदस्यहरुलाई आफूले बैठक नबोलाउने भनी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएका छन् ।
अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित रुपमै सचिवालय बैठक बोलाउनुपर्ने माग गर्दै पत्र बुझाएपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका एक सदस्यले बताए ।
उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफललगायतको मुद्दाहरुमा छलफल हुनुपर्ने भन्दै सचिवालय बैठकको माग गरिरहेका छन् ।
ओलीलाई उदृत गर्दै ती सदस्यले भनेका छन्–‘गुटबन्दी भयो, बैठक किन बस्ने ?’ बालुवाटारतिर सोझिनुअघि ५ सदस्यहरुले धुम्बाराहीस्थित पार्टी कार्यालयमा अनौपचारिक भेटघाट गरेका थिए ।
गत शुक्रबार अध्यक्ष दाहालले बोलाएका सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् । त्यसपछि सहभागी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई नै बैठक बोलाउनको लागि सामूहिक आह्वान गर्ने निर्णय गरेका थिए ।
उक्त निर्णयबमोजिम शनिबार (आज) बालुवाटार पुगेका बहुमत सदस्यहरुसँग प्रधानमन्त्री ओलीको तिक्ततापूर्ण सम्वाद भएको पनि ती सदस्यले बताएका छन् ।
Related News:
ओलीलाई भेट्नुअघि दाहाल-नेपाल खेमाका नेताहरु छलफलमा
नेकपा सचिवालय बहुमत सदस्य पुगे बालुवाटार, बैठकका लागि लिखित आग्रह गरिने
बहुमत सदस्यहरुद्वारा ‘तत्काल बैठक’को लिखित माग, ओलीले कुनै जवाफ दिएनन्








