ओलीलाई भेट्नुअघि दाहाल-नेपाल खेमाका नेताहरु छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका सचिवालय सदस्यहरुले अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार (आज) भेट्ने भएका छन् ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा ओलीलाई भेट्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा अनौपचारिक छलफलमा जुटेका हुन् । छलफल सकिएपछि ११ बजेपछि बालुवाटार पुगेर ओलीसँग छलफल गर्ने एक नेताले बताए ।
गत शुक्रबार पनि धुम्बाराहीमै बसेका सचिवालयका पाँच सदस्यहरुले ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।
सचिवालयका नौमध्ये पाँच नेताहरु [दाहाल, झलनाथ खनाल, नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ] सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक दबाब दिने निष्कर्ष निकालेका थिए ।








