विश्वप्रकाश शर्माको दसैंः घर जान्छु, सामाजिक दूरी कायम गरेर साथीहरुसँग भेट्छु

काठमाडौं । सदाको जस्तै समय रहेन । हामीमाथि सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता आइलागेको छ । यसैलाई मध्यनजर गरेर दसैं मनाउनको लागि म पनि घरसम्म पुग्छु । मेरो पनि त्यस्तो नयाँ योजनाहरु केही छैन, दसैं मनाउनको लागि ।

सदाका जस्तो योजनाहरु यसपालि नबनाउँदा नै राम्रो हुन्छ । साविकका दसैंहरुमा त सबैजना घुम्न जाने, पिङ खेल्ने, साथीसाथी बीच झुम्ने नाँच्नेलगायतका विभिन्न क्रियाकलापहरु हुन्थे । तर, यो वर्ष भने त्यो स्थिति छैन । घरसम्म भने पुग्ने विचार छ । त्यहाँ पुगेर धेरै केही नगरेर घरमै दसैं मनाउँछु अनि घरमा पाकेको मीठो–मसिनो खानो हो ।

त्यहाँ पनि सामाजिक दूरी कामय गर्नैपर्ने हुन्छ । सामाजिक दूरी कामय गरेर दसैं मनाउने गरौं हामी सबैले । साथीभाइहरुसँग भेटघाट एकदमै सीमित रुपमा गर्ने भन्ने लागेको छ, मलाई । यहाँहरुलाई पनि उही अनुरोध गर्छु म ।
ठूलाबडाबाट आशीर्वाद लिन्छु । विद्यमान परिस्थितिलाई पनि हामीले ख्याल गर्नैपर्छ ।

‘बाँचे अर्को दसैं आउँछ’

बाँच्नु ठूलो कुरा हो । बाँचिएको खण्डमा यस्ता दसैं त साल नबिराई आउँछ ।

आउँदा सालहरुमा रमाइलो गरौंला भनेरै म पनि यसपालिको दसैंलाई साधारण रुपमा मनाउने सोचमा छु । कहिलकाहीँ यसो साथीभाइहरुको लहैलहैमा परेरै पनि यस्तो परिस्थितिमा धरापमा पर्न सकिने हुन्छ । तर, यो साल भने हामी कोहीकसै त्यस्तोमा नपरौं । कोभिडले दिएको त्रासले सधैं मनमै राखेर बसौं ।

हाम्रो आँगनमै आइसकेको दसैंलाई भव्य, सभ्य र आफ्नो जायजेथाले भ्याएसम्म रमाइलो गरेरै मनाऔं । दसैं हो, रमाइलो गरौं भनेर नलागौं । त्यसको परिणाम हामी स्वयम् आफैँले नै भोग्नुपर्ने हुन्छ । यसर्थ हामी सधैं सुरक्षित रहेर दसैं मनाऔं । दसैं मात्रै पनि होइन, जुनसुकै चाडपर्व मनाउने बेलामा पूर्ण सावधानी अपनाउनु जरुरी छ । दसैंसँगै आइहाल्छ, तिहार अनी छठलगायतका चाडवाड । यी चाडवाडरुलाई एकदमै सावधानीपूर्वक मनाऔं । जहिलेसम्म कोरोनाकाल साम्य हुँदैन । जहिलेसम्म यसको निदानको खोप आउँदैन ।

यस वर्षको दसैं नरमाइलो भएर केही हुँदैन । रमाइलो गरी त आउने दसैंहरु मनाउँला नि !

‘पहिलो प्राथमिकता स्वास्थ्य’

हामीले दसैंतिहार मनाउँदै गर्दा आफ्नो स्वास्थ्यलाई पनि विशेष ख्याल गरौं । सबैभन्दा ठूलो भनेको हाम्रो स्वास्थ्य हो । यसर्थ हामीले दसैंमा मीठो–मसिनो खाँदै गर्दा रमाउँदै गर्दा पनि सर्वप्रथमतः आफ्नै स्वास्थ्यलाई ख्याल गरौं ।

म अनुरोध गर्न चाहन्छु, एक साल रमाइलो नगर्दैमा हुनेवाला केही छैन । पछिको वर्षहरुमा हामीले रमाइलो गर्न सकिहाल्छौं ।
हाम्रो धन भनेकै स्वास्थ्य हो । तसर्थ, हाम्रो पहिलो प्राथमिकता स्वास्थ्यमै हुनुपर्दछ ।

म अनुरोध गर्न चाहन्छु–यसपालिको दसैंमा मनमनै आशीर्वाद दिएर अनि लिएर मनाउनको लागि । यद्यपि उच्च सावधानी र जनस्वास्थ्य मापदण्डको पालना गरेर टीका नै थाप्ने भएपनि हुन्छ । तर, उच्च सावधानी अपनाऔं ।

‘दशैंको भक्कु शुभकामना’

अन्तमा, सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा यो वर्षको भक्कु शुभकामना छ । म नेपाली कांग्रेसको प्रवक्ता भएको नाताले मेरो पार्टीको तर्फबाट पनि शुभकामना भन्न चाहन्छु । यो दसैंले विद्यमान परिस्थितिलाई पनि परास्त पार्न सघाओस् । हामी सबैलाई पनि विद्यमान परिस्थितिसँग लड्ने क्षमता थपिदेओस् । सबैमा शुभकामना ।

प्रस्तुति: धनबल राई

प्रतिक्रिया