कर्णाली विवाद : अध्यक्षद्वयबीच जुट्यो सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटमा कर्णाली विवादका बारेमा छलफल तथा सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकरी अनुसार ओली–दाहालबीच प्रमुख सचेतक गुलाबजंग शाह जिम्मेवारीबाट नहट्ने, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता हुनेलगायतका अन्य विषयमा सहमति भएको छ ।

यस्तै प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको छ ।

अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने गरी विवादलाई सल्टाउने सहमति भएको हो ।

गत हप्ताको आइतबार नेकपाकै १८ सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि चर्किएको विवाद योसँगै टुङ्गो लाग्ने संकेत देखिएको छ ।

प्रतिक्रिया