सोनी ज्वेलर्सका प्रोप्राइटरविरुद्ध दुई अर्ब बढीको राजस्व छलि मुद्दा

काठमाडाैं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित सोनी ज्वेलर्स (स्था.ले.नं. ३०४७१०५४२) का प्रोप्राइटर सहित दुई जना विरुद्ध दुई अर्ब बढीको राजस्व छलि मुद्दा दर्ता भएकाे छ ।

सोनी गोल्ड एण्ड सिल्भर प्रा.लि.का मुख्य सञ्चालक समेत रहेका सुनिल सुनारको नाममा नेपाली नागरिकताको प्रमाणपत्र समेत लिएका भारतीय नागरिक सुनिल सोनी (सुनिल सुनार) सहित दुई जना विरुद्ध राजस्व छलिको मुद्दा लागेको हो ।

राजस्व अनुसन्धान विभागले सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बस्ने मतियार अमित परियार र सुनिलविरुद्ध सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको कसुरमा उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध विभागले दुई अर्ब ३९ करोड १५ हजार ९४३ विगो असुल गरी जरिवाना र कैद मागदावी लिइ असोज २६ गते मुद्दा दायर गरेको हो ।

सुनिल सोनीले सुन चाँदीको अवैध आयात निर्यात तथा विक्री कारोवार गर्ने गरेको तथा मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिहरुसग कारोबार गर्ने गरेको, कारोबार स्थलबाट बरामद गरिएका वैक दाखिला भौचर बैंक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बंक भौचरका आधारमा विभिन्न व्यक्तिला रकम भुक्तानी दिएको लगायतका प्रमाणबाट निजले बैंक तथा भन्सार विन्दु बाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा बिक्री गर्ने गरेकाे पाइएकाे छ ।

सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने र दिने गरेकोले अवैध सुन चाँदीको चोरी पैठारी निकासी गरी कारोवार गरेको पनि विभागकाे अनुसन्धानमा खुलेकाे छ ।

प्रतिक्रिया