डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव मैनालीको नेतृत्वमा वार्ता टोली गठन

 

काठमाडौँ । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

वार्ता टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् ।

अनसनरत डा. केसीसँग वार्ता गर्न टोली गठन नगरेको भन्दै चिकित्सक संघले असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९–का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र धर्ना दिने निर्णय गरेको थियो । चिकित्सक संघले आन्दोलन गर्ने घोषणा गरेलगत्तै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको छ ।

यस अघि चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधवार सकिएको हो । बुधवारै संघले आन्दोलनको घोषणा पनि गरेको थियो ।

मङ्गलवार डा. केसीलाई भेट्न शिक्षा सचिव गोपी मैनालीसहितको टोली शिक्षण अस्पताल पुगेको थियो । टोलीले वार्ता तोड्न आग्रह गरेको थियो । तर डा. केसीले भने औपचारिकरुपमा वार्ता टोली गठन गरी माग पुरा नगर्दासम्म अनसन नतोड्ने अडान लिएका थिए ।

 

प्रतिक्रिया