जाजरकोट जीप दुर्घटना : वडाध्यक्षसहित ५ जनाको मृत्यु, घटनाबारे थप बुझ्दै प्रहरी

काठमाडौं । जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको ज्यान गएको छ । जुनीचाँदे गाउँपालिका वडा नं. १ औलखोलानजिक भएको जीप दुर्घटनामा परी सोही वडाका अध्यक्षसहित ५ जनाको ज्यान गएको हो ।

बुधबार (आज) दिउँसो २ बजेको समयमा भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा पर्दा सवार उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको छ ।’ उपरीक्षक बाँस्तोलाले भनेका छन् । यस्तै उनले घटनाको बारेमा थप बुझ्दै गरेको जनाए ।

दुर्घटनामा जुनीचाँदे–१ की अन्दाजी ६५ वर्षीय बुद्धिबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही र ३० वर्षीय खिमबहादुरलगायतको ज्यान गएको उपरीक्षण बाँस्तोलाले जानकारी दिए ।

घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी पुगेको छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया